काठमाडौँ महानगरपालिका धमाधम होर्डिङबोर्ड हटाउँदै

 

काठमाडौँ, २४ पुस । काठमाडौँ महानगरपालिकाले जथाभाबी राखिएका होर्डिङबोर्ड धमाधम हटाउँदै छ । महानगरपालिकाले मंगलबार १९२ वटा अनधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर महानगरपालिकाले होर्डिङबोर्ड हटाउन थालेको हो । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम महानगरपालिकाले गरिरहेको छ । कामपाले मंगलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ ।
त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिएका छन् । कामपा नगर प्रहरी महाशाखा प्रमुख सापकोटाका अनुसार विभिन्न संघ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताए । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा रु दुई लाख जरिवाना पनि असुल गरिसकेको जनाए । सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत प्रचारका सामाग्री हटाउने प्रक्रिया शुरु गरेको सापकोटाले बताए । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिइसकेका छन् । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *