प्रेस स्वतन्त्रता कुण्ठित नहुने सञ्चारमन्त्रिको दाबी

भक्तपुर, २४ पुस । प्रस स्वतन्त्रता कुण्ठित नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरले बुधबार आयोजना गरेको २३ औँ स्थापना दिवसमा संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैंँ राजीनामा दिएर आन्दोलनमा उत्रने मन्त्रि बास्कोटाले बताएका हुन् ।उनले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गरेका छन् । मन्त्री बाँस्कोटाले एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी भएको बताए । म पनि वर्षौँसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नु पर्ने उनले बताए । मन्त्री बाँस्कोटाले सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिएका छन् । अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नु पर्ने धारणा राखेका छन् । मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पारे । आफू मन्त्री भएपछि रु पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पु¥याइने जानकारी गराएका छन् । पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उनले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरेका छन् । पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने उनले बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघको दवावपछि नै ‘प्रेस जगत्लाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन सरकारले समिति बनाएर छलफल गरिरहेकोे जिकिर गरेका छन् । महासंघका उपाध्यक्ष दिलीप थापा मगर र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याइएका विधेयक सच्याउन सुझाव दिएका छन् । स्थापना दिवसका अवसरमा ‘दवाव’ साप्ताहिकका सम्पादक तथा महासंघ उपत्यका प्रदेश सचिव अमर भुजुलाई रु दुई हजार पाँच सयसहितको मैयाँदेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई रु १० हजारसहितको भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *