इरानले अमेरिकासँग बदला लियो, ८० अमेरिकी सैनिक मारिएको दावी


काठमाडौँ २४ पुस । अमेरीकाले ड्रोन हमला गरेरआफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारेपछि त्यसको जवाफमा इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ । क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा ८० अमेरिकी सैनिक मारिएको इरानी संचारमाध्ययको दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी आक्रमणमा मारिएका सुलेमानी हत्याको बदला लिन ती क्षेप्यास्त्रहरु प्रहार गरिएको जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयलका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो । ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएको बताइएको छ । मानवीय क्षतिका सम्बन्धमा पेन्टागनले केही बताएको छैन । गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको थियो । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो । इराकमा अमेरिकाका ५ हजार सैनिक रहेका छन् ।
यसैगरी, इरानको तेहरानमा दुर्घटना भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनीलाई नदिइने भएको छ । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७–८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केहीबेरमै दुर्घटनामा परेको थियो ।
इरानो नागरिक उड्ययनका प्रमुख अली अवेजादेहले दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स बोइङलाई नदिने बताएका हुन् । जहाजको ब्ल्याक बक्सका टावरसँग भएको कुराकानीको रेकर्ड हुन्छ । सोही रेकर्डका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ ।
दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण भएका बेला इरानको नागरिक उड्ययनले जहाजको ब्ल्याक बक्स अमेरिकी कम्पनीलाई नदिने बताएको हो । ब्ल्याक बक्सको डाटा कहाँ लिएर परीक्षण गरिन्छ भन्नेबारे केही खुलाइएको छैन । १६७ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७–८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो ।
जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन् । युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *