निर्णय नसच्चिए देशभर पार्टीभित्रै आन्दोलन गर्ने पौडेलको चेतावनी, परिस्थितिले आफू पौडेल पक्षमा आएको सिटौलाको दावी


काठमाडौं, २४ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको निर्णय नसच्चिए देशभर पार्टीभित्रै आन्दोलन गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले चेतावनी दिएका छन । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले राय लिन सानेपामा बोलाएका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेल यस्तो चेतावनी दिएका हुन । भेला समापनपछि नेता सिटौलाले परिस्थितिले अहिले आफू पौडेल पक्षमा आएको बताए । सिटौलाले भने, ’अहिलेको परिस्थिति सम्हाल्न आएको छु । भोलिका दिनमा के हुन्छ त्यो अहिले भन्न सकिन्न । महामन्त्री कोइरालाले भने निर्णय नसच्चिए फेरि सोच्ने बताए । उनले भने, ’सच्चिएन भने फेरि सोच्न बाध्य हुनेछौं ।’
यता, सभापति देउवाले तीन दिनेदेखि पार्टी कार्यालय सानेपामा भेला भएका असन्तुष्ट जिल्ला सभापतिहरुलाई बिहीवार बिहान ’ब्रेकफास्ट’को निम्तो दिएका छन् । बिहीवार ब्रेकफास्टका लागि सभापतिले बोलाउनु भएको छ, हामी सबै जाँदैछौं,’ नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले भने । मंगलवारबाट शुरु भएको असन्तुष्ट पक्षको जिल्ला सभापतिहरुको भेला बुधबार सकिएको छ । भेलामा ५२ बढी जिल्लाका जिल्ला सभापतिहरु भेला भएको पौडेल पक्षले दाबी गरेको छ । सभापति देउवाले पुस ११ गते बहुमतको आधारमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पौडेललगायत नेताहरु रुष्ट बनेका थिए । रुष्ट नेताहरुले देउवाको कदमविरुद्ध रणनीति बनाउन सानेपामा जिल्ला सभापतिहरुको भेला राखेका थिए । सभापतिहरुको छलफलबाट ११ गतेको निर्णय सच्याउन मागसहितको ज्ञापनपत्र तयार पारिएको छ । ज्ञापनपत्रमा ५२ जना जिल्ला सभापतिको हस्ताक्षर रहेको नुवाकोटका कांग्रेस सभापति केसीले बताए । ब्रेकफास्ट बुढानिलकण्ठमा खाएपनि ज्ञापनपत्र भने पार्टी कार्यालयमै बुझाउने केसीले बताए । ’हामी ज्ञापनपत्र बुढानिलकण्ठमा बुझाउँदैनौ,’ उनले भने । बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले जिल्ला सभापतिहरूको भेलाले थप उत्साहित बनाएको बताएका छन् । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरू र केन्द्रीय सदस्य उपस्थित भेला समापनपछि बुधबार साँझ पौडेल र सिटौलाले सभापति शेरबहादुर देउवाले पुस ११ को निर्णय छिटो सच्याउनुपर्ने माग दोर्होयाए । सभापति देउवाले विधान मिचेर सदस्यता सम्बन्धी धारा निलम्बन गरेको, बहुमतका आधारमा कार्यसमितिको म्याद थप गर्दै ०७७ फागुनमा महाधिवेशनमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र विधान विपरीत ४७ विभाग गठन गर्ने निर्णय गरेपछि पौडेल–सिटौला पक्ष रूष्ट छन् । बरिष्ठ नेता पौडेलले सभापति देउवा बहुमतको बलमा एकलौटी हिँडेपछि परामर्शका लागि ७५ जिल्ला सभापतिलाई बोलाए पनि ५० जिल्ला सभापति भेलामा सहभागी बनेको बताए । ‘७७ जिल्ला सभापतिलाई परामर्श बैठकमा बोलाएको हो, कतिपय आउन सक्नुभएन । ५० जनाजति आउनुभयो । यो दुई तिहाइ संख्या हो,’ पौडेलले भने, ‘जिल्ला सभापतिहरूबाट महत्वपूर्ण सुझाव प्राप्त गरेका छौं । ’जिल्ला सभापतिहरूले पार्टी सहमतिअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएको पनि उनले जानकारी दिए । ‘पार्टी नेतृत्व पारदर्शी र विधिसम्मत ढंगबाट चल्नुपर्छ र यसमा पूर्ण रूपमा सहयोग रहन्छ भन्ने जिल्ला सभापतिहरूको सुझाव छ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘११ गतेको बैठकका निर्णय सच्चिनुपर्छ भन्ने नै जिल्ला सभापतिहरूको सुझाव आयो । हामीले पनि यो कुरा भन्दै आएको हो । उहाँहरूले थप बल दिनुभएको छ, हामी उत्साहित छौं । ’पुस ११ गते विधान मिचेर गरेको निर्णयले पार्टीलाई नै धरापमा पार्ने काम भएकोले त्यो छिटो सच्याउनुपर्ने पौडेलले बताए । निर्णय सच्याउन देउवा तयार नभएपछि पौडेलले जिल्ला सभापतिको भेला राखेर दवाव दिन खोजेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *