स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं २३ पुस । शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने महानगरीय प्रहरी वृत्त जनसेवा प्रमुखका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र र सामुदायिक सेवा केन्द्र महाङ्कालद्वारा मंगलबार आयोजित स्वागत, सम्मान तथा सामुदायिक सचेतना कार्यक्रममा नायव उपरीक्षक शाहले शान्तिसुरक्षामा कुनै कसर बाँकी नराखिने बताएका छन् । समुदायसँग सहकार्य गरेमात्रै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रममा सहभागीहरुले विगतमा जस्तो प्रहरी देख्ने बित्तिकै डराउनुपर्ने अवस्था अहिले नरहेको उल्लेख गर्दै प्रहरी पनि जनताकै सेवक भएकाले आपसी सहकार्य जरुरी रहेको बताए ।

त्यसैगरी, प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले यहाँका पर्वहरुको शान्तिसुरक्षामा ध्यान दिन सके अन्य ठूलो सुरक्षा चुनौती नरहेको बताए । उक्त कार्यक्रममा लामो समयमा काठमाडौँको वडाध्यक्ष भएर सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै स्थानीय ८९ वर्षीय वृद्ध चन्दानन्द नेवाःलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उनीसँग ४० वर्ष वडाध्यक्ष भएर काम गरेको अनुभव रहेको सो क्रममा जानकारी दिएको थियो । सो क्रममा उनले काठमाडौँ विगतदेखि नै अव्यवस्थित रुपमा सहरीकरण भएकाले व्यवस्थित सहर बनाउनुपर्नेमा सुझाव दिएका छन् । जनसेवा सामुदायिक केन्द्रका अध्यक्ष विकासभक्त श्रेष्ठ, स्थानीय पवित्र बज्राचार्य लगायतले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा प्रभावकारी भएको महसुस गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *