जावलाखेल–एनआरटि र मनाङ–मछिन्द्र बराबरी


काठमाडौं, २२ पुस । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा जावलाखेल युथ क्लब– न्यू रोड टिम (एनआरटि) र मनाङ–मछिन्द्र बीचको खेल बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालामा सोमबार भएको खेलको आठौं मिनेटमा रुप बहादुर लामाको क्रसमा एनआरटीका गोलरक्षक र डिफेन्सबिच तालमेल नमिल्दाको हेडरलाई बियक बियकले टप कर्नरमा हेड गर्दै बचाए । १५औं मिनेटमा जावलाखेलका ड्याडी जुनियर वाम्बाले बक्सभित्र राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेनन् । २६औं मिनेटमा सुजित बुढाथोकीको फ्रिकिकमा एडमा डोम्वियाको हेडर पोस्टबाट थोरै बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो । ३०औं मिनेटमा रुप बहादुर लामाको प्रहारलाई गोलरक्षक अजित प्रजापतिले नियन्त्रणमा लिए । पहिलो हाफको ईन्ज्युरी समयको थप गरिएको फोफानाको हेडर पासमा कुबेर बिष्टको प्रहार आकासियो ।
दोस्रो हाफको ७३ औं मिनेटमा प्रकाश बुढाथोकीले ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले डाइभ दिँदै बचाए । ८२ औं मिनेटमा एनआरटिका राजेश परियारले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले टिकेन्द्रलाई समस्या दिन सकेन । यस नतिजासँगै जावलाखेलको ५ खेलमा २ जित र ३ बराबरीले ९ अंक भएको छ । एनआरटि भने ५ खेलमा २ जित, १ बराबर र २ हारसहित ५ अंकमा छ । गत सिजन पुछारमा रहेको कारण एनआरटिको २ अंक घटाइएको छ ।
यसैगरी खेलको दोस्रो मिनेटमा नै मनाङले अग्रता लिएको थियो । अन्जन विष्टको क्रसमा आडेवुमी फेमीको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले बचाउन सकेनन् । २१ औं मिनेटमा रञ्जित धिमालको क्रसमा आडेलाजा सोमिडेले सिक्स यार्ड बक्सभित्र गरेको हेडर थोरैले बाहिरियो ।
लगातार दवाव बनाएको मछिन्द्रले ३१ औं मिनेटमा बराबरी गर्ने सुवर्ण अवसर गुमायो । विशाल राईको फ्रिकिकमा पिटर सेगुनको प्रहारले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा सुजल श्रेष्ठको लामो प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।
अभिषेक रिजालले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले दीपलाई समस्या दिन सकेन । लगत्तै रञ्जितको फ्रिकिक प्रहार फितलो रह्यो । ४२ औं मिनेटमा रञ्जितकै क्रसमा अभिषेकको हेडरले पोस्टको दिशा लिन सकेन ।
४६औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सुजलको प्रहार पहिलो बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
७१औं मिनेटमा विशाल राईको फ्रिकिक प्रहारलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए । ८१औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । उनको प्रहारलाई गोलरक्षकले रोक्ने कुनै मौका नै पाएनन् ।
८८औं मिनेटमा विमल रानाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । जगजित श्रेष्ठको क्रसमा गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेपनि रिवाउन्डमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका विमलले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार गमेलमा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *