१४ जुवाडे र ३ जना हुण्डीकारोवारी पक्राउ

काठमाडौं, २२ पुस । भक्तपुरबाट १४ जना जुवाडे र न्युरोडका विभिन्न स्थानबाट ३ जना हुण्डीकारोवारी पक्राउ परेका छन् । भक्तपुरको एउटा रिसोर्टमा जुवा तास खेलिरहेका १४ जना नगदसहित पक्राउ परेका छन् । ठिमी नगरपालिका ९ को निलबाराही रिसोर्टमा जुवातास खेलिरहेका १४ जनालाई भक्तपुर परिसरले सोमबार पक्राउ गरेको हो । उनीहरूको साथबाट सात लाख तीन हजार १९६ रूपैयाँ र ८ हजार ६६० भारू बरामद भएको प्रहरीले जनाएको छ । महानागरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई सोमबार नै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा लगेर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकताविरूद्धको कसुर अन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।
यसैगरी, हुण्डी कारोबारमा संलग्न चार जनालाई साढे १३ लाख रकमसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडका विभिन्न स्थानमा छापा मारी तीन कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं २४ का गोपाल अग्रवाल, ताहचलका कमल अग्रवाल, सुनसरी धरान २ का नारायणकुमार अग्रवाल र सिन्धुपाल्चोक मेलम्चीका भोला नेपाल छन् । भोलाको साथबाट ९ लाख ५० हजार रूपैयाँ नगद बरामद भएको छ । उनको साथमा रहेको विभिन्न बैंकका ६४ लाख ९९ हजारको चेक बरामद गरिएको महाशाखाले जनाएको छ । कमलको साथबाट २ लाख रूपैयाँ बरामद भएको छ । उनको साथबाट १४ लाख रूपैयाँको चेक बरामद भएको छ । नारायणको साथबाट प्रहरीले दुई लाख दुई हजार रकम बरामद गरेको छ । उनको साथबाट ७८ लाख ९९ हजार रूपैयाँको चेक बरामद भएको छ । गोपाल इन्द्रचोकस्थित ईजोन पसलका सेल्स स्टाफ हुन् । उनी हुण्डी कारोबारमा संलग्न देखिएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *