प्रचण्ड र देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल,देउवासँगको छलफललगत्तै प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयीक राजनीतिक विषमा छलफल भएको छ । उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइएको छ ।
सभापति देउवासँग छलफलका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेल सोमबार देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा कुरा भएको जनाइएको छ ।
शान्ति प्रक्रियाका अरु काम पूरा भएपनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजबिनका विषयमा ठोस उपलब्धि हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ ।
अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक जुगलका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो ।
यसैगरी, सभापति देउवासँगको छलफललगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेत छलफल भएको छ । सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन् ।
बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफल भएको जनाइएको छ । नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने माग राखेका थिए । सचिवालय अलि मिलेको छैन । मिलाउनुपर्छ, नेता नेपालले धनगढीमा भनेका थिए । तर ओली भने तत्काल सचिवालय सदस्य नबढाउने पक्षमा छन् ।
नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । नेकपाकै कतिपय नेताहरुले उपसभामुख तुम्वाहाङफेले राजीनामा दिएपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार तय गर्न सहज हुने बताउदै आएका छन् ।
पूर्व माओवादी समुहले अध्यक्ष प्रचण्डमार्फत पूर्व सहमति तोड्न नहुने भन्दै पूर्व माओवादीबाटै सभामुख बन्नुपर्ने दवाव दिइरहेका छन् । पूर्व माओवादी समूहबाट अग्नि सापकोटा उम्मेदवारका रुपमा चर्चामा छन्, भने पूर्व एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङलाई ल्याउने सोचमा ओली रहेका छन् । त्यसैगरी, उपसभामुख शिवमाया तुम्वाहाङफलाई नै सभामुख बनाउनु पर्ने पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *