४१ जिल्लाका सभापतिद्वारा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने माग

काठमाडौँ, २२ पुस । नेपाली काँग्रेसका ४१ जिल्लाका सभापतिहरुले पार्टीले लिन निर्णय विधानसम्मत हुनुपर्ने माग गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबार सुरु भएको जिल्ला सभापतिहरुको भेलाले पार्टी सभापति शेरबहादुर देउवालाई चार बुँदे ध्यानाकर्षण पत्र पेश गरिएको छ । ध्यानाकार्षण पत्रमा उनीहरुले काँग्रेस नेतृत्व अनुदार र असहिष्णु भएको गुनासो गरेका छन् । ध्यानाकर्षणपत्रमा नेपाली काँग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुले आपत्ति प्रकट गरेका छन् । यसैगरी, महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ । सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेसनको मिति तोकेका थिए ।
सभापतिहरुको ध्यानाकर्षणपत्रमा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने, पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब सुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने सभापतिहरुको माग छ । सभापति देउवाले एकलौटी रुपमा गरेको उक्त निर्णयको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले विरोध गर्दै आएका छन् । बैठकमा नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायत सहभागी थिए । देउवाको कदमको कारण कांग्रेसमा किचलो पैदा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *