वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने दावी

काठमाडौं, २२ पुस । वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने भन्दै विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा माइतीघरमा विरोध प्रदर्शन गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम वाग्मती राखेको विरोधमा उनिहरुले माइतीघरमा विरोध प्रदर्शन भएका हुन । उनीहरुले प्रदेश नम्बर ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको भन्दै विरोध गरेका छन । प्रदेश नम्बर ३ को नाम यहाँको ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ’नेवा–ताम्सालिङ’ राख्न उनीहरुले माग गरेका छन् । प्रदर्शनकारीले नेकपा सचिवालयले प्रदेशको अधिकार मिचेको भन्दै वाग्मती प्रदेश आफूहरुलाई मान्य नहुने बताए । यता, केही दिनमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको छ । पुस २२ गतेका लागि बैठक बोलाइएको भनिएता पनि नेकपामा प्रदेशको नाम र राजधानीको विषयमा सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अन्यौलमा परेको बताइन्छ । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको थियो । तर प्रदेश सांसदहरुले भने केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन । नेकपाकै प्रदेश सांसदहरु वाग्मती नाम र हेटौंडालाई राजधानी मान्न तयार छैनन् । उपत्यकाका सांसदहरू प्रदेश ३ को नाम नेपालमण्डल राख्नु पर्ने अडानमा छन् । उनीहरुले संसदीय दलको बैठकमा नै केन्द्रले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले प्रक्रिया पु¥याएर प्रदेशबाट मतदान भए जे पनि हुन सक्ने बताउँदै आएका छन् । यता, नेकपा भने केन्द्रबाट निर्देशन भएकै नाम पारित गराउने पक्षमा छन् । त्यसका लागि प्रदेश ३ का सांसदहरुलाई व्यक्तिगत रुपमा नेताहरुले निर्देशन दिइरहेको बताइन्छ । त्यसैगरी सांसदहरुले केन्द्रले आदेश नमान्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *