सत्तारूढ नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने,राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै गएको दावी

काठमाडौँ, २१ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको हो । नेकपाको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठकको मिति सार्ने निर्णय गरेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि जारी पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक डाकेको थियो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहनेछ । विधानको प्रस्तावनामा परिवर्तनलगायत सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने विषय स्थायी कमिटीले अनुमोदन गरेको थियो ।
यसैगरी,पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन । प्रेस सङ्गठन कञ्चनपुरले आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे । “प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ”, उनले भने, “जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।” जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरूले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको इन्जिन हो”, उनले भने, “यसलाई गतिशील बनाउन आवश्यक छ ।” भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए । “आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ”, उनले भने, “छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *