अवैध सुन र गाँजासहित ९ जना पक्राउ

 

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेटौँडा–वीरगञ्ज सडकखण्डबाट अवैध सुन र गाँजासहित ९ जना पक्राउ परेका छन । दुबईबाट धुलो बनाई ल्याइएको एक किलो दुई सय ग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार,विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । शनिबार राति मोहम्मद मित्तालिब र परवेज मुसरफलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीका अनुसार एक जनाले मलद्वारमा चार सय ग्राम, अर्कोले पनि चार सय ग्राम र ट्राउजरभित्र तथा खुट्टामा लुकाएर ल्याइएको सुन बरामद भएको हो ।

यसैगरी, शनिबार प्रहरीले हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे र चुरियामाइको बीच जङ्गलमा बा५ख ७२६८ नंको ट्रकबाट २१ केजी अवैध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तस्करी गर्ने ट्रकमा यात्रारत राक्सिराङ गापा–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तान र ट्रक नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्रकका चालकको खोजी भइरहेको छ । त्यसैगरी शनिबार सोही सडकको सोही स्थानमा हेटौँडाबाट वीरगञ्ज जान लागेको रातोमाटे प्रहरी चौकीमा जाँच गर्न भारतीय डीए–३ सीएक्यू ४१७२ नंको कारलाई रोक्दा नरोकेपछि प्रहरीले पिछा गरी कार रोक्दा त्यसमा सवार तीन जनालाई भाग्ने क्रममा प्रहरीले पेस्तोलबाट हवाई फायर गरी नियन्त्रणमा लिएको छ । कारको पछाडिको सिटमुनि फल्सबटनमा लुकाएको अवैध गाँजा ३२ केजी पनि बरामद गरी कारसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारमा यात्रा गरिरहेका भारतीय चालक बिहारको मोतिहारी जिल्ला पूर्वीचम्पारण चैनपुरका ३७ वर्षीय दिलीपकुमार सिंंह, रघुनाथपुरका १८ वर्षीय उज्ज्वलकुमार ठाकुर, रौतहट जिल्ला यमुनामाई गापा–४ का विकास सिंह रहेका छन् । यस्तै, प्रहरीले जिल्ला अदालत मकवानपुरले २०७२ जेठ २७ मा डाका मुद्दामा छ वर्ष कैद र रु ६३ हजार ७५० जरिवाना तोकिएको फैसलामा फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २७ वर्षीय गोविन्द घिमिरेलाई बारा जिल्लाको सिमरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका सबैलाई पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरेको छ । पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *