सभापतिको कार्यशैलीप्रति म सहमत छैन ः नेता पौडेल

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको कार्यशैलीप्रति आफु सहमत नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन ।
शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका हुन । उनले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । उनले ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरू टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुने बताए । उनले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए । पौडल समूहको बहिष्कारका बीच नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।“पार्टीमा केही समस्या छन्”, पौडेलले भने, “समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।” उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए । उनले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताए । “म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु”, उनले भने, “विकल्प कार्यकर्ताले खोज्छन् ।” नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उनले स्वीकार गरेका छन । देशलाई भ्रष्टचारमुक्त र काँग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ ।
यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार विराटनगरमा आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए । केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राखे । नेपाल काँग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरूको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए । कार्यक्रममा काँग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *