विद्यार्थी संगठनबीच एकता भए पनि असन्तुष्ट यथावत

काठमाडौं, १९ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ । संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतापछि विद्यार्थी संगठनहरू पनि एकता भए पनि भागबन्डा नमिल्दा लामो समयदेखि केन्द्रीय कमिटी विस्तार हुन सकेको थिएन । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार शुक्रबार साँझ केन्द्रीय कमिटी विस्तार गरेसँगै केन्द्रीय कमिटी तीन सय ३५ पुगेको छ । एमाले समर्थित विद्यार्थीबाट एक सय ८० र माओवादी समर्थितबाट एक सय ५५ जना केन्द्रीय कमिटीमा परेका छन् । बस्नेतका अनुसार केन्द्रीय कमिटी सचिवालय एक सय ११ सदस्यीय बनाइएको छ । स्थायी कमिटी भने ४५ सदस्यीय बनाउने निर्णय भएको हो । अनुशासन, निर्वाचन र लेखा आयोग पनि गठन गरिने उनले बताए । अनेरास्ववियूका संयोजक ऐन महर र रञ्जित तामाङ सहसंयोजक रहेको केन्द्रीय कमिटीले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलएको हो । बस्नेतका अनुसार ४२ जिल्लाको नेतृत्व पूर्व एमाले समर्थित विद्यार्थी र ३५ जिल्ला नेतृत्व पूर्वमाओवादी समर्थित विद्यार्थीले पाएका छन् ।
यसैगरी,अनेरास्ववियूले केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य हुने बताएका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि भातृ विद्यार्थी संगठन पनि एक भएका थिए । प्रचण्डलाई भेट्न उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादवसहित प्रदेशका संयोजकहरू मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *