आज तमु ल्होसार, गण्डकी प्रदेशमा बिदा


काठमाण्डौ, १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार तमु ’ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ ।गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसैगरी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व कायम गर्ने बताएका छन । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरे । नयाँ वर्षका रूपमा गुरुङ समुदायले मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन । सांस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौँदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउँदै उनले सन्देशमा भनेका छन “यस वर्ष तमुजातिले फो ल्हो मृग वर्गलाई बिदाइ र च्यू ल्हो मुसा वर्गको स्वागत गर्दै नयाँ वर्ष मनाउँदैछन् ।” गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा पुस १५ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *