भ्रमण वर्ष उद्घाटनको भव्य तयारी, २४ हजार स्वदेशी तथा विदेशी पाहुनाहरुलाई उद्घाटनको लागि निम्ता


काठमाडौं, १४ पुस । नेपाल सरकारले भ्रमण वर्ष २०२०को उद्घाटन भव्य तरीकाले गर्ने तयारी गरेको छ । करिब २४ हजार स्वदेशी तथा विदेशी पाहुनाहरुलाई उद्घाटनको लागि निम्ता पठाइसकेको छ । जनवरी १ का दिन दशरथ रंगशालामा सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्ने भएको छ । अधिकतम २० लाख पर्यटक भित्र्¥याउने सरकारले योजना बनाएको छ ।
उद्घाटन कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहद् साङ्ले मार्चपास गरिने छ । साथै उत्साहपूर्ण कार्यक्रमका लागि ड्रोन मार्फत आकाशमा राष्ट्रिय झण्डा सहित भ्रमण वर्षको लोगो प्रर्दशन गरिने छ । यस्तै नेपाली सेनाको हेलिकटर मार्फत पनि राष्ट्रिय झण्डा र भ्रमण वर्षको ब्यान सहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल भ्रमण २०२० समुद्घाटन कार्यक्रमका लागि मात्र २४ हजारलाई निम्तो पठाइएको छ । कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जानकारी दिएका छन् । स्वदेशी सरकारी तथा गैरसरकारनी संघसंस्था, मन्त्रालय, विभाग लगायत विदेशी राजदूत, मन्त्री तथा विशिष्ट पाहुनाहरुलाई निमन्त्रण पठाइएको उनको भनाइ छ । ‘हामीले निम्ता पठाउनुपर्ने सबै स्वदेशी तथा विदेशी क्षेत्र निकाय तथा व्यक्तित्वहरुलाई निमन्त्रणा पठाइसकेका छौँ । करिब २४ हजार निमन्त्रणा कार्ड वितरण भएको छ,’ श्रेष्ठले भने, ‘सबै आए दशरथ रंगशालाले धान्ने अवस्था रहँदैन । निम्ता गरेका मध्ये आधाआधिको उपस्थिति हुन्छ भन्ने हाम्रो अनुमान हो । तर अधिक उपस्थिति भए बाहिरको चोक र आर्मीको मैदानबाट पनि हेर्न मिल्ने गरी स्टेज स्क्रिनको व्यवस्था गर्ने गरी व्यवस्था मिलाएका छौं । यता सचिवालय प्रमुख सुरज वैद्यले उद्घाटन समारोहमा दशरथ रंगशालाले धान्न नसक्ने अवस्था आउन सक्ने बताए । स्वदेशी तथा विदेशी पाहुनाको उल्लेखनीय उपस्थितिले दशरथ रंगशालाको क्षमताले नभ्याउने उनको विश्लेषण छ । ‘भ्रमण वर्ष २०२० प्रति सबैमा उत्साह छ । यो उत्साह नेपालीहरुमा मात्र होइन विदेशीहरुमा समेत उत्तिकै देखिन्छ । जसले गर्दा भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रममा उल्लेखनीय मात्रामा पाहुनाको उपस्थिति हुने देख्छु ।’ वैद्यले भने, ‘आगन्तुकको चापलाई कसरी व्यस्थापन गर्न सकिन्छ भनेर हामी तयारी गरिरहेका छौँ । स्वदेशी सरकारी तथा गैरसरकारी निकायहरुका एक सय हाराहारीका संघ–संस्थाहरुले कार्यक्रममा मार्च पास गर्ने छन् । कार्यक्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले राष्ट्रिय धुनसहित मार्च पास र भिजिट नेपाल २०२० को कलात्मक डेमो प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *