चिसोको कारण ५ जनाको मृत्यु, चिसो अझै बढ्ने


काठमाडौं, १४ पुस । अत्यधिक चिसोका कारण तराईमा पाँच जनाको ज्यान गएको छ । मध्य तराईका धनुषा, पर्सा र बारा जिल्लामा पाँच जनाको मृत्यु भएको हो ।
चिसोका कारण जनकपुर उपमहानगरपालिका–२३ की ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ । त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको छ । बारा प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको ज्यान गएको छ । त्यस्तै आगो ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने क्रममा आइतबार बेलुकी ज्यान गएको हो । घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।
बारा र पर्सामा परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको छ । उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । दुई सातायता तराईमा बाक्लो हुस्सु चलिरहेको छ । घाम नलागेका कारण मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्यधिक चिसो छ । चिसोले जनजीवन प्रभावित बनेको छ ।
त्यसैगरी, अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ । विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ ।
यसैगरी,बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताईन । उनका अनुसार यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने उनले बताईन । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताईन ।यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *