फिल्म ‘आमा’ फागुन ९ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘आमा’ फागुन ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।व्यावसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ का निर्देशक हुन, दीपेन्द्र के. खनाल । यो फिल्मपछि उनीमाथि दर्शकको अपेक्षा बढेको छ । तर, पछिल्लो समय उनी बजारमुखी भएको आरोप समीक्षकको छ । ‘चङ्गा चेट’ उनी निर्देशक पछिल्लो फिल्म हो । यो फिल्मले बक्सअफिसमा ठिकठाक व्यापार गरे पनि निर्देशक खनालको चर्को आलोचना भयो । उनीबाट ‘चङ्गा चेट’ जस्तो फिल्म नभइ ‘पशुपति प्रसाद’ जस्तो यथार्थपरक फिल्मको दर्शकमा प्रतिक्षा रहने गर्दछ । आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ बाट भने उनी आफ्नो लयमा फर्किएको भान हुन्छ । बिहीबार यो फिल्मको ट्रेलर सार्वजनिक भयो । ट्रेलर हेर्दा उनले फिल्ममा गहन विषय उठाएको देखिन्छ । अहिले फिल्मको ट्रेलरको निकै चर्चा भैरहेको छ । ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग र समर्पणसँगै श्रीमानलाई जीवन दिन एक श्रीमतीले गर्ने संघर्षपूर्ण कथालाई निकै मर्मस्पर्शी ढंगबाट देखाइएको छ । ट्रेलरमा अभिनेत्री मिथिला शर्माको अभिनय र संवादले आँखा रसाउँछ । अभिनेत्री सुरक्षा पन्तको अभिनय पनि उस्तै मनछुने छ । शर्मिला पाण्डे निर्मित ‘आमा’ फिल्मको ट्रेलरलाई यो समाचार तयार पर्दासम्म पाँच लाख पन्ध हजारभन्दा बढीले हेरिसकेका छन् । २९ हजार लाइक्स मिलेको ट्रेलरमा अहिलेसम्म पाँच सय पनि डिसलाइक पुगेको छ । यसबाटै फिल्मको ट्रेलर दर्शकलाई कुन हदसम्म मन परेको छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यस्तै, १५ सयभन्दा बढी कमेन्टमा कसैले ट्रेलरको बारेमा नराम्रो लेखेका छैनन् । सफलताको मानक मानिने यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको ‘आमा’ को ट्रेलर हेरेपछि धेरैले भावुक भएको प्रतिक्रिया जनाएका छन् । निर्देशक खनाल ‘पशुपति प्रसाद’ पछि यस प्रकारको सकारात्मक प्रतिक्रिया मिलेको बताउँछन् । ट्रेलरबाट दर्शकमा फिल्मप्रति निकै अपेक्षा बढेको छ । त्यसमा फिल्म चाहिँ कुन हदसम्म सफल हुने हो ? त्यसका लागि कुर्नैपर्ने हुन्छ । ुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *