नम्रता म्यूजिक भिडियोमा व्यस्त


काठमाडौं । फिल्म ‘अन्तराल’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री नम्रता सापकोटा अहिले गुमनामझैँ छिन् । उनलाई पर्दामा नदेखिएकै एक वर्षभन्दा बढी भैसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘समर लभ’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनले नयाँ फिल्ममा काम गरेकी छैनन् । कतिपय उनलाई फिल्मबाट अफर नै हुन छाडेको बताउँछन् । आजभोली उनी भिडियोमा बढी व्यस्त छिन् । एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेता पनि अभिनेत्री नम्रताले फिल्म ‘छक्का पञ्जा’ मा विष्णुको चरित्र निर्वाहा गरेपछि दर्शकको ठूलो वर्गमा आफूलाई चिनाउन सफल भएकी थिइन् । भूमिका छोटो भए पनि उनको अभिनयलाई दर्शकले रुचाएका थिए । फिल्ममा उनी कलाकार जितु नेपालको अपोजिटमा थिइन् । सम्भवतः उनी अभिनीत यो पहिलो हिट फिल्म पनि हो । तर, नाम चलेका कलाकारहरुको ठूलो भीड भएका कारण फिल्म सफलताको क्रेडिट उनले पाइनन् । न त फेरि दीपकराज गिरी र दीपाश्री निरौलाको क्याम्पमा नै उनको प्रवेश भयो । आजभोली नम्रता फिल्मबाट अफर आउन कम भएपछि म्यूजिक भिडियोसँगै देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा व्यस्त हुने गरेकी छन् । कार्यक्रम उद्घोषणका लागि पनि उनको माग राम्रो छ । फिल्म छनोटमा चुके पनि उनी आफूलाई सुहाउने पहिरन छान्न भने परफेक्ट मानिन्छिन् । कुन कार्यक्रममा कस्तो पहिरन लगाएर जाँदा आफूतिर सबैको ध्यान खिच्न सकिन्छ भन्ने ज्ञान उनमा राम्रो छ । त्यसैले त उनले लगाएको पहिरनको प्रायः चर्चा हुने गर्दछ । केही दिन अगाडि एक कार्यक्रममा हरियो रंगको लेहंगा र गोल्डेन रंगको ब्लाउजमा पुगेकी उनी निकै सुन्दर देखिएकी थिइन् । नेपाली फिल्ममा आफ्नो पकड बनाउने सपना पूरा गर्न नसकेकी उनी अब पहिरन छनोट जस्तै फिल्म छनोटमा पनि गम्भीर हुनुपर्ने देखिन्छ । संख्या बढाउनका लागि हातमा आएका जुनसुकै फिल्म गर्नुभन्दा आफ्नो डुब्न लागेको करिअरलाई माथि उठाउन उनले अब आफ्नो भूमिका, स्क्रिप्ट र टिम हेरेर काम गर्न जरुरी छ । आखिर कहिलेसम्म पहिरनको चर्चामा रमाएर बस्ने नम्रताजी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *