विप्लव नेकपाका केन्द्रीय सदस्यसहित ५ जना पक्राउ

काठमाडौं, ६ पुुस । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् । उनीहरुलाई बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको बिशेष ब्युरोको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
यसैगरी, सुनसरी बराहक्षेत्रबाट प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ । सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा छापा मार्दा हतियार भेटिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए । ‘बरामद गरिएको हतियार डम्पिङ गरेको भन्ने कुरा आएको छ,’ डिआइजी ज्ञवालीले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं ।’
यसैगरी, प्रहरीले अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथमा रहेको ६ किलो कोकिन बरामद गरेको हो । शनिबार राति विमानस्थलबाट दुई जना विदेशी नागरिकसँगबाट ४ केजी र अप्रेसन गर्दै जाँदा ठमेलबाट दुई जनालाई दुई केजी कोकिनसहित नियन्त्रणमा लिइएको ब्यूरोका एसएसपी वसन्त लामा बताए । गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको थियो । उनी फ्लाई दुबईको विमानबाट काठमाडौं आएकी थिइन् । यसअघि पनि प्रहरीले आइभेरिकोष्टका एक नागरिकलाई १ किलो ६ सय ग्राम कोकिनसहित नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको कोकिनको अन्तर्राष्ट्रिय मूल्य २० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । तर, कोकिनको बजार मूल्य भने त्यसको गुणस्तर अनुसार विभिन्न देशमा फरक पर्ने गर्दछ ।
यस्तै,काठमाडौं प्रहरीले अपराधिक गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा दुर्गा राई र विष्णु धिताललाई नियन्त्रणमा लिएको हो । दुबै जनालाई कोटेश्वर र पेप्सीकोला क्षेत्रमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । राई गुन्डा नाइके रमेश बाहुन समूहका सुटरसमेत हुन् । ’गुन्डागर्दी गरेर मानिसलाई धम्काएको अभियोगमा नियन्त्रणमा लिएका हौं,’ महाशाखाका प्रमुख एसएसपी थापाले भने । प्रहरीले उनीहरु विरुद्ध उजुरीको आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । उनी केही समयअघि मात्र पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए । गुन्डा बाहुन भने अझै केन्द्रीय कारागार सुन्धारामा नै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *