प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता, संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन आग्रह

काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो । सभापति देउवाले प्रधानमन्त्री ओलीसँग भेटेर संवैधानिक परिषद सम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरेका छन् । संवैधानिक परिषद सम्बन्धी विवादास्पद विधेयक वा अध्यादेश नल्याउन देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । सरकारले परिषद बैठक राख्नै समस्या भएको भन्दै कार्यविधि परिवर्तन गरी प्रमुख र पदाधिकारी नियुक्ति बहुमत सदस्यबाट गर्न मिल्ने व्यवस्था गर्न लागेपछि कांग्रेसले विरोध गर्दै आएको छ । सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष प्रचण्ड र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए । सभापति देउवासँगको भेटमा प्रचण्ड र रक्षामन्त्री पोखरेल भने उपस्थित थिएनन् ।सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सभामुख चयन लगायतका समसामयिक विषयमा छलफल भएको छ । बालुवाटारमा ओली र देउवाबीच भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन । भोलीबाट संसद सुरु हुने भएकाले दुई नेताबीच त्यसवारेमा कुराकानी भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवासँगै ओलीसँगको भेटमा काँग्रेस नेता रमेश लेखक समेत बालुवाटार पुगेका थिए । यद्यपि नेता लेखकले दुई नेताबीचको छलफलबारे केही बताउन चाहेनन् ।
काँग्रेसले यसअघि सरकारलाई विवादास्पद अध्यादेश र विधेयक अघि नबढाउन आग्रह गर्दै आएको छ । तर सरकार मिडिया काउन्सिल लगायत विभिन्न विधेयक अघि बढाउने तयारीमा छ । सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा सरकारले हालै दर्ता गरेको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ फिर्ता लिन माग गरेको छ । उक्त विधेयकले व्यक्तिगत सूचना चुहावट हुने दाबी गर्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले विवादास्पद विधेयक सदनमा दर्ता गरेर अवैधानिक प्रतिगमनको संवैधानिक तयारी गरेको आरोप लगाएका छन । ‘अवैधानिक प्रतिगमनको संवैधानिक तयारी अर्थात् नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक। सिंहदरवारमा पञ्चायती मार्क्सवाद’ उनले भनेका छन् । कांग्रेस संसदीय दलले पनि उक्त विधेयक फिर्ता लिन माग गरेको छ । शुक्रबारदेखि सुरू हुने संसदमा कांग्रेसले यो विषयलाई उठान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक रणनीति तय गर्न बिहीबार दिउँसो संसदीय दलमा बैठक बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *