नम्रताका तीनवटा फिल्म बक्सअफिसमा पछारिए


काठमाण्डौ । नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठ नाम गरेका दुई अभिनेत्री छन् । ठूली नम्रता श्रेष्ठ ‘नोभेम्बर रेन’ की अभिनेत्री हुन् । भने, सानी नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यहाँ हामी सानी नम्रताको विषयमा कुरा गर्दैछौं । ठूली नम्रतासँग नाम मिल्दा आफ्नो पहिचान बनाउन नसकेकी नम्रताले अहिलेसम्म तीन फिल्म गरिन् । तर, तीनै फिल्म बक्सअफिसमा पछारिए । डेब्यू फिल्म ‘गाँठो’ मा उनको जोडी अभिनेता नाजिर हुसेनसँग बाँधिएको थियो । यसमा उनी सोलो अभिनेत्री थिइन् । तर, दर्शक र समीक्षकले फिल्म नै बुझेनन् । न त उनको अभिनय नै रुचाइयो । उनले दोस्रो फिल्मको रुपमा ‘जानी नजानी’ गरिन् । यसमा उनी नव–अभिनेत्री निरिशा बस्नेतको साइड हिरोइन थिइन् । यो फिल्म झन् हलमा लागेको र उत्रिएकै दर्शकलाई पत्तोपत्तो भएन । फिल्मको मामलामा आफूलाई ‘अनलक्की’ ठान्ने नम्रता तेस्रो फिल्म ‘माछा माछा’ बाट हिटको सुख प्राप्त गर्नेमा आशावादी थिइन् । किनकि, फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका थिए । भने, सौगात मल्लको प्रमुख भूमिका थिए । उनकै अपोजिटमा नम्रता थिइन् । तर, गएको मंसिर २० गते प्रदर्शनमा आएको फिल्मले पोस्टरको पनि पैसा उठाउन सकेन । यसमा उनको न सम्झनलायक भूमिका थियो न त प्रशंसायोग्य अभिनय नै । फिल्ममा उनलाई निकै कम ‘स्क्रिन स्पेश’ मिलेको थियो । यद्यपि, फिल्म चलिदिएको भए उनलाई केही हदसम्म फाइदा भने हुने थियो । तर, यो फिल्मको खराब परिणामले उनको करिअर थप संकटमा परेको छ । एकातिर फिल्म नचलेर विजोग, अर्कोतिर नाम मिलेर तनाब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *