सरस्वती युवा क्लब एनआरटीसँग पराजित

ललितपुर, १ पुस । न्युरोड टिम एनआरटीसँग सरस्वती युवा क्लब पराजित भएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको हो । गएको संस्करणमा लिगको पुछारमा रहेको एनआरटीले लिगको पहिलो खेलमा सरस्वती युवा क्लबलाई ४–० गोल अन्तरले हरायो । जितसँगै यो सिजनमा तीन अंक जोडे पनि एनआरटीले गएको संस्करणको २ अंक तिर्नु परेकाले तालिकामा भने १ अंकमात्रै जोडेको छ ।सातदोबाटोको एन्फा कम्पलेक्सको मैदानमा मंगलबार भएको खेलमा एनआरटीको जितमा जुनियर ओंगे, सरोज तामाङ, एरिक विष्ट र जोर्डन जुनियर निडेम्बाले एक–एक गोल गरे ।३५ औं मिनेटमा जुनियर ओंगेको गोलबाट अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा तीन गोल थपेको थियो । ६९ औं मिनेटमा सरोज तामाङले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए ।यसैगरी एरिक विष्टले ८१ औं मिनेटमा टिमका लागि तेस्रो गोल थपे । दोस्रो हाफमा दबाबमा रहेको सरस्वतीले ९० औं मिनेटमा चौथो गोल खान पुग्यो । एनआरटीका लागि जोर्डन जुनियर निडेम्बाले गोल गरेका थिए ।त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।दशरथ रंगशालामा भएको खेलमा पुलिस शेर्पासँग गोलरहित बराबरीमा रोकियो । विभागीय टिम पुलिसले शेर्पा्विरुद्ध पहिलो हाफमा खासै राम्रो ‘मुभ’ बनाउन सकेन । जसका कारण पहिलो हाफमा गोलरहित बराबरी खेल्यो ।दोस्रो हाफमा पुलिसले केही सुधारिएको प्रदर्शन गरे पनि पाएको अवसरलाई सदुपयोग गर्न सकेन । जसका कारण उसले यो सिजनको पहिलो खेलमा नै अंक बाढ्न बाध्य भयो । यता शेर्पाको पनि स्ट्राइकिङ लाइनले राम्रो प्रदर्शन गर्न सकेन ।बराबरीपछि पुलिस र शेर्पाले एक–एक अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *