कूटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्ने मन्त्रीको दावी

काठमाडौँ, १ पुस । कूटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्ने  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन । प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले मंगलबार  बँेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कूटनीतिक माध्यमबाट नेपाली भूमि फिर्ता गर्नेतर्फ सरकार अघि बढेको  बताईन  ।उनले भनिन, ‘‘हामीले हतार गरेका छौँ तर छोड्नु पर्नेले ढिलो गरेकाले अतिक्रमित भूमि फिर्ता हुन ढिलाइ भइरहेको छ ।’’ भूमि अतिक्रमण राष्ट्रिय विषय भएकाले सरकार एउटैको मात्रै कुरा होइन जनता, सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने समेत उनको भनाइ छ । सरकारले औपचारिक रूपमा धारणा सार्वजनिक गरेको छ, सरकारले सर्वदलीय÷सर्वपक्षीय बैठक गरेर राष्ट्रिय कार्यसूची बनायो, वार्ताका लागि तिथिमिति तोकेरै पत्र पठायौँ तर उता भारतबाट जवाफ नआएको भन्दै मन्त्री अर्यालले बताईन । “वार्ताको टेबुलमा बसेको दिन त्यो भूमि फिर्ता हुन्छ । त्यही भएर भारतले वार्ताका तिथि तोक्न ढिलाइ गरिरहेको छ ।”   एक अर्को प्रसङ्गमा मन्त्री अर्यालले सरकारले धेरै सकारात्मक काम गरे पनि एकथरिले आलोचनाका लागि मात्र आलोचना गरेको भन्दै मन्त्री अर्यालले भनिन, ‘‘नेपाली भूमि अतिक्रमण २०३ वर्ष अघिदेखिको विषय हो, त्यतिबेला पनि सरकार, राज्य थिए त्यस बेलाको सरकारले किन गर्न सकेनन् । पहिलेकाले सकेनन् भनेर हामी पछि हट्दैनौँ । जमिन फिर्ता गर्ने विषयमा धेरै अघि बढी सक्यौँ । अब पछि हट्दैनौँ ।’’ नयाँ नेपाली नक्सा सार्वजनिक गर्नभन्दा पनि ठूलो कुरा अतिक्रमण भू–भाग फिर्ता गर्नु भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रित भएको मन्त्री अर्यालले बताईन ।    मन्त्री अर्यालले भनिन “यो मुलुकलाई विकास गरौँ, विकसित देशको तुलनामा यो देश छिट्टै पु¥याउनेतर्फ सरकार अघि बढेको छ । फरक खाले विकास आजको आवश्यकता हो, पहिलाको भन्दा ठूलो ठूलो बजेट गाउँगाउँमा लैजाँदा पनि सरकारले विकास ग¥यो नभन्नेहरू पनि छन् । भएका र गरेका कामलाई सकारात्मक रूपमा हेरौँ । कमजोरी भए हामी सच्याउन तयार छौँ ।”    

यसैगरी, नेपालको भूभाग संरक्षण गर्नका लागि सबै एकताबद्ध भएर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । नेपाल बार एसोसिएशनले मंगलबार आयोजना गरेको ‘सीमा अतिक्रमण ः समस्या समाधान उपाय’ विषयक अन्तरक्रियामा पूर्वसांसद रमेश लेखकले राष्ट्रिय सवालमा सबै एकजुट भएकाले कूटनीतिक तथा राजनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिए ।सरकार अगाडि बढ्दा समाधान गर्न सहज हुने भन्दै उनले नेपाल र भारत दुवै देशमा शक्तिशाली सरकार भएको हुनाले दुई देशका सरकारबीच नै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । वरिष्ठ अविधक्ता युवराज सङ्ग्रौलाले नेपालको भूभाग सबै मिलेर संरक्षण गरी भूभागको उपयोग गर्नुपर्ने सुझाव दिए । नेपालले प्रयोग नगरेको भूभाग भारतले आफ्नो नक्सामा राखेको भन्दै उहाँले कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने जोड दिए । विश्लेषक श्याम श्रेष्ठले सम्पूर्ण राजनीतिक दल मिलेर एक मतका साथ कूटनीतिक र राजनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गरे । उनले नेपालको नक्सामा लिम्पियाधुरा छुटेको हुनाले पूर्ण नक्सा बनाउन माग गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षणसमेत गराएको जानकारी गराए । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपालको भूभागको संरक्षण र नेपालको नक्सा सही निर्माणका लागि सबैको पहल जरुरी भएको हुनाले छलफलको आयोजना गरेको जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *