गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको दावी

कालीकोट, १ पुस । गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन । मंगलबार कालीकोटको सदरमुकाम मान्ममा मुख्यमन्त्री शाहीले विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताए ।  कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम शुभारम्भ भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका–२ मान्म कालीकोट निवासी दर्शना दमाईका चार महिने छोरी जानकारी परियार र सोही नगरपालिका–१ का रतना सुनारका दुईमहिने छोरी जमुना सुनारलाई बैँक खाता खोल्न रु एक हजारको चेक दिएर कार्यक्रम शुभारम्भ गरे ।    शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए । उनले भने, “कालीकोट मुलुकको सबैभन्दा गरीब जिल्ला हो । यही गरीब जिल्लाकी भाग्यमानी छोरी जानकी र जमुनाबाट यहाँ छोरीको उज्ज्वल भविश्य निर्माणका लागि छोरी सुरक्षा कार्यक्रमको आरम्भ गरेका छौँ ।”   विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने विश्वास दिलाए । उनले भने, “महिला तथा दलितहरू लक्षित परीक्षण परियोजना पनि सरकारले अगाडि बढाएको छ । प्रदेश सरकार दीर्घकालीन रूपमा प्रभाव पार्ने ठोस योजना निर्माणतर्फ केन्द्रित छ ।” यस प्रदेशका ७९ स्थानीय तहमा एक÷एक नमुना विद्यालय निर्माण, पर्यटन वर्ष तथा यहाँका १७ लाख ७० हजार नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्भ गरिएको उहाँले बताए ।   यस कार्यक्रमले छोराकै निम्ति गर्भमै छोरीको भ्रूण हत्या गर्ने, आमाहरूलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकामा आत्मग्लानी गर्ने गलत संस्कृतिको अन्त्य हुनेछ । यसबाट अब छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने र छोरी जन्मदा खुशी बन्ने संस्कारको विजारोपण हुनेछ ।   सामाजिक विकास मन्त्री दल रावलले मानव पूँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए । उनले चालू आव साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत रु तीन करोड ८४ लाख प्रदेश स्थानीय सरकारहरूलाई हस्तान्तरण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न रु एक हजार र प्रतिमहिना रु ५०० का दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जनाए ।  यसअघि छोरी बुहारी छात्रवृति कार्यक्रमबाट कर्णालीका दुई सय महिलालाई प्रदेश सरकारले सेवा दिएको उनको भनाइ थियो । उनका अनुसार प्रदेश सरकारले सुत्केरी पोषण कोशेली कार्यक्रम पनि शुरु गरिसकेको छ ।   प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता बिमला केसीले छोरी सुरक्षा कार्यक्रमको शुभारम्भले जीवनमा सबैभन्दा ठूलो खुशी मिलेको बताए । “प्रदेश सरकारको यस कार्यक्रमले अब छोरीलाई पेटभित्र मार्ने, बालविवाह तथा लैङ्गिक हिंसा हुने परिवेशको अन्त्य, रोजगारीको सिर्जना र सामाजिक सुरक्षा हुन्छ,” प्रवक्ता केसीले भने,    प्रदेशसभा सदस्य कुर्मराज शाहीले प्रदेश सरकारले छोरीको भविश्यका लागि सामाजिक न्यायको कार्यक्रम ल्याएको भन्दै धन्यवाद व्यक्त गरे । उनले यस कार्यक्रमबाट लाभ लिएर समुन्नत समाज निर्माण लाग्न सबैलाई आग्रह गरे । प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, स्थानीय सरकारका प्रमुख, राजनीतिक दलका प्रमुखहरूले छोरी सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिएका छन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *