सत्तारूढ नेकपाको महाधिवेशन २०७७ सालको अन्त्यमा गर्ने सहमति, पार्टीभित्र देखिएको गुटबन्दी निरूत्साहित गर्न नेतृत्वको ध्यानाकर्षण


काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सोमबार धारणा राख्ने वक्ताहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमति जनाएका छन । सोमबार बसेको स्थायी कमिटीको बैठकमा १२ जना वक्ताले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन । पार्टी अध्यक्ष ’प्रचण्ड’को अध्यक्षतामा धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायतले धारणा राखेका हुन् । प्रत्येक वक्तालाई आफ्नो धारणा राख्नको लागि २० मिनेटको समय दिइएको थियो । स्थायी कमिटी सदस्यहरूले पार्टी्भित्र झ्यांगिएको गुटबन्दी निरूत्साहित गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफलमा भाग लिँदै सोमबार स्थायी कमिटी सदस्यहरूले चरम गुटबन्दी निरूत्साहित गर्न माग गरेका हुन ।‘आफ्ना धारणा राख्दै अधिकांश स्थायी कमिटी सदस्यहरूले अध्यक्ष र महासचिवले राखेको प्रस्तावलाई समर्थन नै गर्नुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘प्रस्ताव परिमार्जन गर्ने सन्दर्भमा आफ्ना विचार, सुझाव र आलोचनात्मक टिप्पणी आएका छन् । स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गरेर जानुपर्ने सुझाव पनि दिएका थिए । ‘गुटबन्दी कसरी निरूत्साहित गर्ने, भ्रष्टिकरण कसरी रोक्ने र सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाव पनि आएका छन,’ श्रेष्ठले भने । पार्टीलाई अझै क्रान्तिकारी र एक ढिक्का बनाएर अघि बढाउन पनि स्थायी कमिटी बैठकमा आवाज उठेको छ । सोमबार बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, युवराज ज्ञवाली, भीम रावल, देव गुरूङ, पम्फा भुसाललगायतले धारणा राखेका थिए । २०७७ सालभित्र राष्ट्रिय महाधिवेशन गर्ने गरी अघि बढ्न पनि सुझाव आएको श्रेष्ठले जानकारी दिए । आइतबारबाट पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तुत गरेका थिए । प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तराष्ट्रिय परिवेश, उपनिर्वाचन समीक्षा, पार्टी सुद्ढिकरण, सरकारको समिक्षा लगायतका विषय उल्लेख छ । स्थायी कमिटी बैठक आज सक्ने भनिएपनि लम्बिन सक्ने स्थायी कमिटी सदस्यहरुले बताएका छन् । प्रस्तावहरूमाथि मंगलबार पनि छलफल हुनेछ । मंगलबार ११ बजे पुनः बैठक बस्ने उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *