चरेश बोक्ने र फिरौती माग्ने ६ जना पक्राउ


काठमाण्डौ, ५ मंसिर । कैलाली र कञ्चनपुरबाट चरेश बोक्ने र फिरौती माग्ने ६ जना पक्राउ परेका छन । कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले आज जनाएको छ । राति गाउँ धनगढी तर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइधम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी, कञ्चनपुर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका–१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *