सडक दुर्घटनामा ३ जनाको मृत्यु


काठमाण्डौ, ५ मंसिर । कैलाली, बर्दिया र सङ्खुवासभामा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ । कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
यस्तै, बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
यसैगरी,सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शब परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत