अखिल क्रान्तिकारीले भारतीय हस्तक्षेपका विरुद्धमा निरन्तर संघर्ष गर्ने


काठमाडौँ, ५ मंसिर । अखिल क्रान्तिकारीले भारतीय हस्तक्षेपका विरुद्धमा निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताकालागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको हो । क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु ब्युरो संयोजक विरेन्द्र शाहले बिहीबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन । संगठनले कम्युनिस्ट विद्यार्थी अभियान–२, ९वटै जिल्लाहरूमा मंसिर मसान्तसम्म संचालन गरिने, शैक्षिक विकृति विसङ्गतिहरुको भन्डाफोर गर्दै सङ्गठनलाई सुदृढ र विस्तार गरिने, संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनसँग सहकार्य गर्ने, सु.प. विश्वविद्यालयमा रहेका शैक्षिक र प्रशासनिक समस्याहरुका लागि संघर्ष गरिने, निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा लगाईएको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिने, सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका विरुद्धमा संघर्ष गरिने, यातायातमा विद्यार्थीहरुले भाडादरमा पाउने ४५ प्रतिशत छुट कार्यन्वयनका लागि पहल र संघर्ष निरन्तर जारी रहने, सरकारद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्तामाथि भइरहेको दमन, धरपकड, झुठो मुद्दामा फसाउने षड्यन्त्रको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गरिने लगायतका निर्णयहरु शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । “पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन”, उनले भने । उनले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने धारणा राखे । नेता बोहराले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने बताए । त्यस अवसरमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमतसङ्ग्रह भएको बताए । वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले राप्रपा, नेकपा र काङ्ग्रेसको विकल्पको रुपमा आएको बताए । त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफूले यस क्षेत्रमा जित हासिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *