ढुंगा उत्खनन विवादमा प्रहरी र स्थानीयबीच झडप


उदयपुर, ३ मंसिर । ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार प्रहरी र स्थानीयबीच झडप भएको छ । उदयपुरको बेलका नगरपालिका– ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपपछि स्थानीयले चक्काजाम गरेका छन् । ढुंगा उत्खननको विरोधमा चक्काजाम गरेका उदयपुरको बेलका नगरपालिकाका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् । बुधबारदेखि घोषणा गरेको चक्काजाम जिल्ला समन्वय समितिमा भएको भद्र सहमतिपछि स्थानीयले फिर्ता लिएका हुन् ।नगर प्रमुखसँग समस्या समाधानका लागि पछि वार्ता गर्ने सहमतिपछि स्थानीयले आन्दोलन फिर्ता लिएका प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले जानकारी दिए । स्थानीयले कोशीपुल–रुपनगर सडकको चक्काजाम फिर्ता लिएपछि यातायात सञ्चालन भएको छ । झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ । सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए । रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो । ‘नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको हो,’ जिल्ला प्रमुख अधिकारी ध्रुवबहादुर खड्काले भने । सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो । छलफलमा सिसुवा खोला र गिदेरी खोलाबाट अहिलेलाई ढुंगा लाने काम स्थगन गर्ने सहमति भए पनि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने विषयमा सहमति जुट्न नसकेको छलफलमा सहभागी रमेश आचार्यले बताए । छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउन जिल्ला प्रशासन कार्यलयलाई जिम्मा दिएको थियो । ‘सात दिन भइसकेको थियो टिपर राकेर राखेको त्यसैले कानुनअनुरूप नै हामीले सोमबार राति टिपरलाई जिल्ला प्रहरी कार्यालय ल्याएका हौं,’ प्रमुख जिल्ला अधिकारी खड्काले बताए । नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेका थिए । गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ । जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ ।

यसमा तपाइको मत