कांग्रेसले अधिनायकवादी आकांक्षा पुरा हुन नदिने, शालिन प्रतिपक्षको भूमिका निर्वाह गरिएको कांग्रेसको दावी


काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को अधिनायकवादी आकंक्षा पूरा हुन प्रतिपक्षी नेपाली कांग्रेसले नदिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेस रहुन्जेल ने क पाको अधिनायकवादी आकांक्षा पुरा नहुने दावी गरेका हुन् । उनले भने, ’ने क पालाई अहिले पनि अधिनायवादी आकांक्षा त छ । तर कम्युनिस्टको दुर्भाग्य यो देशमा कांग्रेस पार्टी पनि छ । हाम्रो पार्टी रहुन्जेलसम्म लोकतन्त्रलाई खतरामा पर्न दिँदंनौ ।’उपनिर्वाचनको सन्दर्भमा कांग्रेसले एउटा पुस्तिका पनि सार्वजनिक गरेको छ । सार्वजनिक पुस्तिकामा सरकारको २१ महिनाको कामको २१ बुँदे टिप्पणी गरेको छ । उपनिर्वाचनले सरकारलाई बदल्ने निर्वाचन नभएपनि सरकारलाई सच्चिन दवाब दिने उनले बताए । उनले मतदातालाई पनि २१ महिने सरकारको अवस्था २०७४ को निर्वाचनमा भोट माग्दा गरेको प्रतिबद्धता भन्दा फरक छ कि छैन भन्दै प्रश्न गरे । शालिन प्रतिपक्षको भूमिका निर्वाह गरिएको कांग्रेसको ठहर छ । ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय प्रतिबद्धतापत्रमा समेटिएका छन् । प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिका बारेमा विस्तृत उल्लेख गरिएको छ । त्यस्तै प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, बालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफलता भएको समेत उल्लेख छ ।
यसैगरी, नेपाली कांग्रेसले पार्टीका रौतहट सांसद मोहम्मद अफताव आलम प्रकरणमा कानुनअनुसारको कुराहरूमा आफ्नो समर्थन हुने प्रष्टाएको छ ।२०६४ सालमा बम विस्फोटमा परी घाइते भएकाहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेर पोलेको अभियोगमा जेल गएका आलमलाई पार्टीले कारबाही नगरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता शर्माले कानुनअनुसार हुने कुरा पार्टीलाई मान्य हुने बताए । ‘कानुनबमोजिम हुने कुरालाई हाम्रो समर्थन रहन्छ,’ । प्रवक्ता शर्माले भने, ‘कांग्रेसलगायत दल मिलेर फौजदारी अभियोग लागेमा निलम्बन हुने र ६ वर्ष चुनाव लड्न नपाउने कानुन बनाएका छौं । यस्ता घटनामा कानुनअनुसार हुने कुरा मान्य छ ।’ आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।
यस्तै,हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका हुन् । उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *