नेपाल कुवेतसँग बदला लिने दाउमा


काठमाडौं, २ मंसिर । नेपाल कुवेतसँग बदला लिने दाउमा रहेको नेपाली टिमका कप्तान किरण चेम्जोङले बताएका छन । सोमबार खेलको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका कप्तान चेम्जोङले कुवेतसँग ’टफ फाइट’ का लागि तयार भएको बताएका हुन । नेपालले मंगलबार विश्वकप छनोट अन्तर्गतको ’होम गेम’ कुवेतसँग भुटानको चाङलिमिथाङ स्टेडियममा खेल्दैछ । दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको गेम भुटानमा सरेको थियो । खेलको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका कप्तान किरण चेम्जोङले कुवेतसँग ’टफ फाइट’ का लागि तयार भएको बताएका छन् । त्यस्तै प्रशिक्षक योहान कालिनले महत्वपूर्ण खेल भएको भन्दै नेपालले राम्रो प्रदर्शन गर्ने बताएका छन । ’यो हाम्रो लागि महत्वपूर्ण खेल हो । हामी कडा टक्कर दिने छौं । मैले यहाँ उपलब्ध खेलाडीहरुमा फोकस गरेको छु । खेलाडीहरु पनि राम्रो मनोविज्ञानमा रहेकाले राम्रो प्रदर्शन गर्नेछन,’ कालिनले भने । कुवेतले खेलमा राम्रो प्रदर्शन गरिरहे पनि आफूहरु आफ्नो खेलमा आत्मविश्वास रहेको उनले बताए । कुवेतका लागि नेपालसँगको खेल धेरै महत्वपुर्ण छ । यता नेपालले पनि आफू अनुकुल वातावरणमा बलियो कुवेतलाई यस अघि भोगेको ७–० को हारको बदला लिने दाउमा हुनेछ ।
त्यस्तै कुवेतका मुख्य प्रशिक्षक थमेर इनदले राम्रो खेल खेलेर ३ अंक जोड्ने बताएका छन । ’हामी राम्रो खेल खेलेर ३ अंक जोड्ने छौं । हामीले नेपाललाई हल्का रुपमा लिएका छैनौं । नेपाल कमजोर टिम होइन । यहाँको वातावरणले पनि नेपाललाई पक्कै पनि सहयोग गर्नेछ,’ थमेरले भनेका छन् । यद्यपि नेपालका पहिलो रोजाइका मुख्य चार खेलाडी अनुशासनको कारबाहीमा परेसँगै नेपालको खेल प्रभावित हुने देखिन्छ । कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा छ । नेपालले समूह ’बी’ मा सबै ’अवे गेम’ खेलिसकेको छ । र, ’होम गेम’ दशरथ रंगशाला गराउने तय भएको भएपनि रंगशाल पुननिर्माण भइनसकेको भन्दै एसियन फुटबल फेडेरेसनल (एएफसी)ले खेल अन्यत्रै ’न्युट्रल भेन्यु’मा सार्न निर्देशन दिएको थियो । एएफसीको निर्देशनपछि एन्फाले नेपालको ’होम गेम’ भुटानमा हुनुपर्ने प्रस्ताव गरेको थियो। एन्फाको प्रस्तावलाई कुवेतको लविङको बावजुत एएफसीले स्वीकृत गरेको थियो । नेपाल रहेको समूहमा ४ खेल खेलको अस्ट्रेलिया शतप्रतिशत जित निकाल्दै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ४ खेलमा २ जित १ बराबरी र १ हार ब्यहोरेका समान कुवेत र जोर्डन क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। कुवेत गोल अन्तरका आधारमा जोर्डन भन्दा अगाडि रहेको हो । त्यस्तै ४ खेलमा १ जित र ३ हार ब्यहोरेको नेपाल तालिकाको चौथो स्थानमा छ । त्यस्तै ४ खेल खेलेर जितबिहीन चाइनिज ताइपेइ तालिकाको पुछारमा छ । समूह ’बी’ शीर्ष २ मा अटाउन कुवेत, अस्ट्रेलिया र जोर्डनको उच्च प्रतिस्पर्धा छ । त्यसमा पनि समान अंक जोडेका कुवेत र जोर्डनको प्रतिस्पर्धा अझ धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *