पर्यटक भिसामा विदेश जाने महिलालाई कडाई

काठमाडौं, २ मंसिर । पर्यटक भिसामा खाडीका देश, मलेसिया, इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा जाने महिलाको हकमा कडाई गरीएको छ । गएको कात्तिक २६ गतेको गृह मन्त्रीस्तरीय निर्णणबाट यो व्यवस्था लागू भएको हो । नयाँ व्यवस्थाअनुसार भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात पेश गर्नुपर्छ ।सामान्यतया पर्यटक भिसामा जानेले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको व्यवस्था गरेको प्रमाण देखाएपछि प्रस्थान अनुमति पाइन्छ । तर महिलाको हकमा भने विशेष व्यवस्था गरिएको छ । खाडीका देश, मलेसिया, इराक, अफगानिस्तान, सिरिया, अफ्रिकी देशहरु वा अरु देशमा पर्यटक भिसामा जाने महिलाको जोखिमको अवस्थाको विष्लेषण गरेपछि मात्रै अध्यागमनले प्रस्थान अनुमति दिन्छ । विदेशमा रहेका आफन्त वा साथमा लान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात वा गन्तव्य देशमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र उ विदेशमा रहेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्छ ।ट्राभल एजेन्सीमार्फत भ्रमणमा जान लागेको हो भने ट्राभल एजेन्सीको टूर प्याकेजमा लगिएको भनी लेखिएको पत्र र स्वःघोषणा पनि आवश्यक पर्छ । अमेरिका, क्यानडा, युरोपियन देश, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्ने हुन्छ ।अध्यागमन विभागले माग्ने कागजात पूरा गर्नका लागि बिचौलियाको सहारा लिनुपर्ने बाध्यता भएको र अब यति कागजात देखाएमा कसैलाई पनि नरोक्ने अध्यागमन विभागले जनाएको छ । गन्तव्य देशभन्दा अन्य देशमा ट्रान्जिट हुने व्यक्तिहरूलाई रोक्न पनि दुईतर्फी टिकट अनिवार्य गरिएको छ । पहिले पनि यो व्यवस्था थियो, तर अनिवार्य भने थिएन । विद्यार्थी भिसामा विदेश जानेहरूका लागि पासपोर्ट, भिसा, गन्तव्य देशसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र, बास खर्चको व्यवस्थापन खुल्ने कागजात देखाउनु पर्छ ।यस्तै तालिम तथा कार्यक्रममा विदेश जानेहरूले पासपोर्ट, भिसा, गन्तव्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचय पत्र देखाउनुपर्ने भएको छ ।यस्तै कामदार भिसामा जानेहरूका लागि भने श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिन भएको हुनुपर्ने छ । तर युरोपियन देशहरूको भिसा भएकाहरूको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन । भारत जान पासपोर्ट वा नागरिकता र बोर्डिङ पास मात्रै देखाए पनि पुग्ने अध्यागमन विभागले जनाएको छ ।अध्यागमन ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरूका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकलाई विभिन्न देश जाने प्रस्थान अनुमति दिनुअघि आवश्यक व्यवस्था हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *