विप्लव नेकपामाथि दमन गर्न सरकार लागेको आरोप

काठमाडौं, १ मंसिर । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार नियोजित रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि दमनका अनेक खालका षड्यन्त्रमा लागेको आरोप लगाएको छ । दाङ र कपिलवस्तुको सिमानाबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेकपाको रहेको भनी गराइएको प्रचारलाई भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी रहेको भन्दै आपत्ति प्रकट गरेको छ । पार्टीका राप्ती ब्युरो इन्चार्ज समरले आइतबार विज्ञप्ति जारी गर्दै उक्त हतियार पार्टीमाथि दमन गर्ने सरकारी षड्यन्त्रबमोजिम आफैँले राखेर भ्रमपूर्ण प्रचार गराएको जनाएका छन् ।उनले विज्ञप्तिमा भनेका छन, सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा दिनदिनै बदनाम र पतीत बन्दै विघटनको दिशातिर उन्मुख छ । आफ्ना काला हर्कतहरू ढाकछोप गर्न वली सरकार नियोजित रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि दमनका अनेक खालका षड्यन्त्र गरिरहेको छ ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दाङ र कपिलवस्तुको सिमानाबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’समरले विज्ञप्तिमा भनेका छन, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरूप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौँ । नेकपामाथि दमन गर्ने योजनाअनुरूप प्रहरी आफैँले उक्त हतियारहरू राखेर भ्रमपूर्ण प्रचार गराएको पनि स्पष्ट पार्न चाहन्छौँ ।’
यसैगरी, जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेकपा केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंङ्गलाई स्वास्थ्यमा समस्या देखिएपछि दाङको गोर्खा हस्पिटलमा भर्ना गरिएको छ । उनलाई स्क्रबटाईफस रोग लाग्नुका साथै सुगर र ब्लड प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । अहिले स्वास्थ्यमा सुधार हुंदै आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनलाई अन्यत्र रिफर गर्नु पर्ने हो वा त्यहीँ उपचार गर्ने भन्ने बिषयमा डाक्टर संग छलफल भईरहेको परिवार स्रोतले बताएको छ । उनको प्रहरीकै सुरक्षा घेरामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *