प्रहरीको कुटपिटबाट सैनिकको मृत्यु भएको भन्दै राजमार्ग बन्द

काठमाडौं, १ मंसिर । प्रहरीको कुटपिटबाट सैनिक जवानकोे मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले सडक अवरुद्ध गरेका छन । प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका हुन । आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर स्थानीयले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका थिए । शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले राम कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भाग्ने क्रममा ठाउँ मेसो नपाउँदा घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ । चितवनका प्रहरी प्रमुख एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताए ।‘मदिरा सेवन गरेर मात्तिदै आए । अरुमाथि अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीले नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि नै हातपात र कुटपिट गर्न थाले । सार्वजनिक ठाउँमा म सेनाको मान्छे हुँ भन्दै उनले प्रहरीलाई कुट्न थालेपछि हामीले नियन्त्रणमा लिएर प्रहरी पोष्टभित्र ल्याएका हौं’ उनले भने ।प्रहरी नियन्त्रणमा प्रहरीलाई छक्काएर भाग्न खोज्दा कँडेल भीरबाट लडेका प्रहरी प्रमुख मल्लले बताए । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *