भारतसँग नेपाल ३ विकेटले पराजित


काठमाडौं, २८ कात्तिक । एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो । भारतका लागि ओपनर आर्यन जुयल र रबि सरथले ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । रबि रसथलाई अर्धशतक बनाउन १ रन बाँकी रहँदा सुसन भारीले पभेलियन फर्काएका थिए भने आर्यन जुयललाई २९ रनमा ललिनारायण राजबंशीले ’बोल्ड’ गरेका थिए । त्यस्तै ५६ रन बनाएका सनबीर सिंहलाई करण केसीले आउट गराएका थिए। त्यसबाहेक अर्मान जाफरले ५१ रन बनाए । पहिला ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल रन नजोडदै आउट भएका थिए । सुरुमै दबावमा आएको नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले ५४ रनको साझेदारी गरे । कुशल भुर्तेलले २८ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका मोहम्मद आरिफ शेख २ रनमै पभेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ३१ रनमा २४ रन बनाए । ऐरीले भेषवाकरसँग ५५ बलमा ४४ रनको साझेदारी गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए । सरद भेषवाकर पनि ऐरी आउट भएसँगै २९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे । यो पछि नेपाली टिम फेरि दबाबमा आएको थियो । नेपाली टिमको स्कोर उकास्न फेरि पनि पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे । सर्राफसँग ३१ रनको साझेदारी पछि बिनोद आउट भए र सोमपाल क्रिजमा आए तर उनी पनि टिक्न भने सकेनन् । विनोदले ५ रन बनाउँदा सोमपालले २ रन बनाए । सर्राफले ४९ बलमा ५६ रन बनाए जसमा २ छक्का र ७ चौका प्रहार गरे । त्यसबाहेक करण केसीले २० रन बनाए । बंगलादेशमा बिहीबारबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल प्रतियोगिताको समूह ’बी’ मा रहेको छ । समूह ’बी’ मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन् । त्यस्तै समूह ’ए’ मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन् । टेस्ट राष्ट्रका भने यू(२३ टिम प्रतियोगितामा सहभागी छन्।आजै भएका अरु खेलहरुमा पाकिस्तानले अफगानिस्तान माथि ८ विकेटले जित निकाल्दा बंगलादेशले हङकङलाई ९ विकेटले हरायो । नेपालले ३० गते हङकङ र मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *