
जनकपुरधाम, २८ कात्तिक । नेपाललाई हिन्दुराष्ट्र बनाउनकोलागि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले चरणबद्ध संघर्षको घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित बिहीबारदेखि धार्मिक जागरण यात्रा शुरु गरेको हो । यो अभियान मङ्सिर ४ गतेसम्म चल्नेछ ।सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सम्पन्न गर्ने जनाएको हो ।जागरण यात्रा जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट शुरु भएर चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संसारमै एक मात्र सिङ्गो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनार्थका निम्ति जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको जानकारी दिए । जनकपुरमा दुवै अध्यक्षले संयुक्त रुपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रा सहितको संघर्षको घोषणा गरेको बताए । सनातन सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर मुल नारासहित जानकी बुद्ध रथ यात्रा गर्न लागेको बताउँदै पशुपति शम्शेर जबराले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको जिकिर गरे । उनले संसारमै हिन्दु राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको जिकिर गरे । उनले नेपाल हिन्दु राष्ट्र भएमा हिन्दुस्तान र चीन समेतले स्वागत गर्ने दाबी गरे । नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने बताए । अध्यक्ष राणाले १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेकपोष्ट बसेको र सोबारेमा यसअघिका कुनै पनि सरकारले कुरा उठाउने आँट नगरेको बताए । त्यस्तै अर्का केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका निम्ति संविधानमा नै स्थापना गर्नुपर्ने हुनाले यसको लागि चरणबद्ध अभियान थालेको बताए । उनले विभिन्न शक्ति र काँग्रेस तथा नेकपाको षड्यन्त्रले गर्दा हिन्दु राष्ट्र गुमाउनु परेको बताए । उनले हिन्दु धर्म र संस्कृतिक हाम्रो पहिचान रहेकाले हिन्दु धर्म राष्ट्रका लागि अभियान थालेको स्पष्ट पारेका छन । अध्यक्ष डा लोहनीले आफ्नो पार्टीले शुरु गर्न लागेको धार्मिकयात्रा नेपालको पहिचान कायम गर्नका लागि हुने बताए । उनले लिपुलेक र कालापानी क्षेत्रका विषयमा सरकारले भारतसँग मित्रतापूर्वक कूटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका छन ।