राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया सम्पन्न

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया टुंगिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको हो । संघको बिहीबार बसेको बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन । त्यस्तै, वाईसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन् । यद्यपि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न बाँकी छ । ‘पर्सिको बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पनि तोक्छ, त्यसपछि हाम्रो एकता प्रक्रिया औपचारिक रुपमा सकिन्छ,’ युवासंघ अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले भने ।युवा संघको केन्द्रीय कमिटी ३३५ सदस्यीय छ । केन्द्रीय कमिटीका सदस्यहरुको शपथ ग्रहण तथा बैठक यही कात्तिक ३० गते बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुनेछ । त्यसैगरी मंसिर १ गते राष्ट्रिय भेला हुनेछ । भेलामा जिल्ला संयोजक–सहसंयोजकका साथै एक जिल्ला बराबर दुई जना महिला र केन्द्रीय सदस्यहरुलाई सहभागी गराइने युवासंघ अध्यक्ष दीपशिखाले जानकारी दिए । भेलालाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने संघ पहिलो सङ्गठन हो । जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *