पेस्तोल र गाँजासहित ४ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । नवलपरासी, पर्सा र चितवनबाट पेस्तोल र गाँजासहित ४ जना पक्राउ परेका छन । चितवनको इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट बिहीबार पक्राउ गरिएको हो । बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
यसैगरी, नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई बिहीबार नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको छ । मकवानपुरबाट जिल्ला भित्र्याइएको गाँजा भारत तर्फ लैजाने क्रममा माझी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै, ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित सुनौलीदेखि काठमाडौँ जाँदै गरेको लु२ख २८४५ नंको यात्रुवाहक बसमा सवार चितवन जिल्लाको रामपुर नगरपालिका–१ का १८ वर्षीय अवि तामाङलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।उनको साथबाट डाइजोपाम १५० एम्पुल, फेनारागन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका तामाङविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *