काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद बढाइएकोे हो । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु¥याइएको हो ।संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।२०२१ सालपछि जन्म भएका सबै कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नेमा सहमति भएको हो ।
यसैगरी,संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् । सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भनेर ‘तलाई थुक्छु’समेत भनेको गुनासो उनले गरे । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनबाट काम नचल्ने बताए । छलफलका क्रममा सांसद जनार्दन शर्माले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिएका छन ।