लागुऔषध र हतियारसहित ४ जना पक्राउ


विराटनगर, १९ कात्तिक । मोरङ र झापाबाट लागुऔषध र हतियारसहित ४ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित पक्राउ परेका दुई जनालाई हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत छन् । निजलाई कात्तिक १६ गते सिङ्घीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा भएको ढुङ्गा प्रहारमा शङ्का लागि खानतलासी गर्दा हयिारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ परेका निज व्यक्तिका साथबाट प्रहरीले म्यागजिन थान दुई, म्यागजिनमा लोड भएको गोली एक थान, सिमकार्ड पाँच र एक ट्याप्लेट बरामद गरेको छ।घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा भगतलाई उदयपुर निवासी मुकेशकुमारले सो हतियार दिएको खुल्न आएको छ । दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
यसैगरी,झापाको गौरीगञ्ज गाउँपालिका–३ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन । गौरीगञ्ज–३ का ५७ वर्षीय देवनारायण महतो र गौरीगञ्ज–४ का ५० वर्षीय बुदलाल राजवंशीलाई प्रहरीले घरबाट नै हिजो साँझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घरबाट नै पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । पक्राउ परेका महतोको घरबाट प्रहरीले पाँच सय ग्राम गाँजा र नगद १ हजार तीन सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट दुई किलो एक सय २५ ग्राम गाँजा बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत