प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो ः अध्यक्ष प्रचण्ड

बाँके, १९ कात्तिक । प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले बताएका छन । प्रेस सङ्गठन बाँके शाखाले मंगलबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताएका हुन । उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताए । “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उनले भने,“यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।”नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उहाँहरुमाथि सम्मान गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो ।” यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई धेरै ठूलो ठान्नुपर्ने विषय नै होइन ।’पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पु¥याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मङ्सिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे । “उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ”, अध्यक्ष प्रचण्डले भने,“उम्मेदवारलाई जिताउन पार्टी र जनसङ्गठनका सबै तह र तप्का खटिएका छन, हाम्रो जित सुनिश्चित छ ।”नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छठ, मोहर्रमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनि नेपालगञ्ज आएका हुन । यसैगरी, अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्तका लागि सिफारिस गर्ने निर्णयमा पार्टीका नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु सामान्य विषय भएको बताएका छन । ‘माधवजीले एक–दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले त्यसमा जोड पनि दिनुभएको थियो,’ प्रचण्डले भने, ‘त्यो नभएपछि चित्त नबुझ्नु स्वभाविक हो । चित्त नबुझेर उहाँले असहमति जनाउनुभएको हो । मान्दिन भनेर विरोध गर्नुभएको हैन ।’ नेकपा सचिवालय बैठकले सोमबार नयाँ प्रदेश प्रमुखहरुको नाम तय गरेको थियो । पार्टीले टुंगो लगाएको नामलाई नै मन्त्रिपरिषद् बैठकले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । नेता नेपाल पक्षबाट भने कोही पनि सिफारिसमा परेनन् । प्रदेश प्रमुखको नियुक्तमा बरिष्ठ नेता नेपालले असहमति जनाएका छन् ।

यसमा तपाइको मत