चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा सङ्घर्ष चर्काउने निर्णय

काठमाडौं, १८ कात्तिक । चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२–०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकारसम्मेलनपछि हिजो प्रेसविज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन् । समितिले डा. गोविन्द केसीले शिक्षा क्षेत्र सुधारका लागि जारी राखेको आन्दोलनलाई पनि साथ दिने निर्णय गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइछाड्ने अठोट लिएको पनि जानकारी गराउँछौं ।’चन्द र भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘के यो राज्य व्यवस्थामा भ्रष्टचारशून्य सहनशीलता भनेको हैन र ? के यो राज्य कानुनी राज्य हो ? यहाँ अपराधीलाई कारबाही हुन्छ भनेको हैन र ? के आम नेपाली जनताको पसिना बगाएर कमाएको धनले छोराछोरीलाई राज्यले तोकेको शुल्कमा पढाउँछु भन्न नपाइने हो र ? राज्यले तोकेको शुल्क नमानेर बढी पैसा असुल्नु ठगी हैन र ? अपराध हैन र ? भ्रष्टाचार हैन र ? यी र यस्ता प्रश्न आज सबै मेडिकल शिक्षा लिइरहेका विद्यार्थी र उनीहरूका आमाबुबाको मनमा उठेको छ । अनि यो प्रश्नहरूको जबाफ सरकारले दिन नसक्दा हामीले के बुझौँ सरकार ? हाम्रो अझै पनि अनुरोध छ– तुरुन्त यी माफियालाई कारबाही होस् र २०७२–०७३ देखि यताका सबै स्नातक तहका अतिरिक्त रकम फिर्ता होस् ।’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चितवन मेडिकल कलेजले केही दिनअघि गरेको भ्रमपूर्ण पत्रकार सम्मेलनबाट आम चितवनवासी विद्यार्थी र अभिभावकलाई चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क समायोजन ग¥यो भन्ने भ्रममा नपर्न र त्यो विद्यार्थी र अभिभावक र आम जनतालाई भ्रम छर्नका लागि गरिएको षड्यन्त्र मात्र हो भन्ने कुरामा स्पष्ट रहन पनि अनुरोध गरिन्छ । साथै अब आउने सङ्घर्ष काठमाडौंमा गर्ने र डा. गोविन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागि विद्यार्थीले पनि सङ्घर्ष चर्काउने बेहोरा पनि यसै पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौँ ।’
यस्तै,मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थीहरुले माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन् । एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका थिए । पछिल्लो समय राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, वीरगञ्ज युनिभर्सल मेडिकल कलेज भैरहवालगायतमा आन्दोलन भइरहेको छ ।
यसैगरी, डा. गोविन्द केसीले बिभिन्न माग राखेर १७ औं अनसन सुरु गरेका छन । प्रा. डा. केसीले डडेल्धुरामा आफ्नो १७ औं अनसन सुरु गरेका हुन् । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश हुदैँ गर्दा उनले पत्रकार सम्मेलन गर्दै सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनसन मिती पछाडी सारेका उनले सोमबारबाट अनसन सुरु गरेका हुन् ।

यसमा तपाइको मत