नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ


काठमाडौं, १८ कात्तिक । नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकी छिन । राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाईँ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन । राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिन । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थिती रहेको थियोे । यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं १), रत्नेश्वरलाल कायस्थ (प्रदेश नं २), अनुराधा कोइराला (प्रदेश नं ३), बाबुराम कँुवर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश नं ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश) लाई पदमुक्त गरेकी थिन ।
यता,सात प्रदेशमा रिक्त प्रदेश प्रमुख छान्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र ‘प्रचण्ड’ बीच भागबन्डा भएको छ । प्रदेश प्रमुखमा अर्का नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सिफारिसमा परेनन । जसले गर्दा नेपाल पक्ष अध्यक्षद्वय ओली र ‘प्रचण्ड’सँग रुष्ट बन्न पुगेको छ । नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । प्रदीप नेपाल, विश्वकान्त मैनाली, बेदुराम भुसाल, रघुजी पन्त र श्रीमाया थकालीमध्येबाट प्रदेश प्रमुख बनाउन नेपालको प्रस्ताव रहेको स्रोतले जनाएको छ । आफूले प्रस्ताव गरेका नाममाथि छलफल नै नभएपछि नेपालले नोट अफ डिसेन्ट नै लेख्ने बताएका छन् ।

यसमा तपाइको मत