यात्रुबाहक बस सुनकोशीमा खस्दा १३ जनाको मृत्यु


काठमाडौँ, १७ कात्तिक । दोलखाको मागे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले घाइतेलाई सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । २० जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेर उपचारको लागि सदावहार अस्पताल खाडीचौर लगिएको जनाएको छ । दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले सुनकोशीको किनारमा ल्याइएको छ ।

यसमा तपाइको मत