कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर उपनिर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाको दावी

चितवन, १७ कात्तिक । नेपाली कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर उपनिर्वाचन लड्नु आवश्यक रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन । आइतबार चितवनमा कार्यकर्तासँग छलफल गर्दै उनले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन । कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने, “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी समेत दिए । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काङ्ग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए । स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताए । जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो । काङ्ग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उनले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने बताए ।

यसमा तपाइको मत