उदाउँदो सूर्यलाई अघ्र्य दिई चार दिन लामो छठपर्व समापन


काठमाडौँ, १७ कात्तिक । आइतबार उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली सिङ्गारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो ।
यसैगरी, जनकपुरका व्रतालुहरूले इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । यस्तै, विराटनगर महानगरपालिका वडा नं ११ पिछरास्थित नहरमा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएको छ । उता,सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आइतबार रुपन्देही र नवलपरासीमा ५ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *