१३ जना जुवाडे पक्राउ


काठमाण्डौ, १६ कात्तिक । चितवन र काठमाण्डौबाट १३ जना जुवाडे पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।
यसैगरी, काठमाण्डौको टोखा नगरपालिका– १० बाट प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी नेपाली सेनाका मेजर राजेन्द्र शाहीसहित ८ जना जुवाडे पक्राउ परेका छन । जुवा खेलिरहेका बेला शुक्रबार बेलुकी काठमाण्डौको टोखा नगरपालिका १० बाट पक्राउ परेका मेजर शाहीलाई थप कारबाहीका लागि सैनिक प्रहरीको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरीले टोखा नगरपालिका १० मा सोमबहादुर दर्लामी मगरको घरमा जुवा खेलिरहेका बेला मेजर शाहीसहित घरधनी मगर, जीत गुरुङ, निराजन राणा, बुद्धिलाल मगर, किरणजंग शाह, धर्मराज शाह र काजी गुरुङलाई पक्राउ गरेको थियो ।प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ र ४ बुक तास पनि बरामद गरेको छ ।
यस्तै, गत शनिबार नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ ‘बले’ सहित २५ जना जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो ।

यसमा तपाइको मत