
काठमाण्डौ, १६ कात्तिक । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ताको गिरफ्तारीविरुद्ध कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने घोषणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तारीविरुद्ध चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले शुक्रबार मशाल जुलुससहित प्रदर्शन गरेका छन् । पार्टी केन्द्रले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार शुक्रबार साँझ राजधानी काठमाडौंसहित देशभर मशाल जुलुससहित प्रदर्शन गरेका हुन् । नेकपा काठमाडौंले काठमाडौंका सोह्रखुट्टे गोंगबु चोकसहित दर्जन स्थानमा मशाल जुलुससहित प्रदेशन गरेको छ । नेकपा कार्यकर्ताहरुले गिरफ्तार नेता–कार्यकर्ता रिहा गर, दलाल सरकार–मुर्दाबाद, नेपाल कम्युनिस्ट पार्टी–जिन्दाबाद,एकिकृत जनक्रान्ती –जिन्दाबादजस्ता नारा लगाएर सडकमा निस्केका थिए । नेकपाको उक्त केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मन्चले काठमाडौँका विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन गरेको होे । जुलुसको नेतृत्व मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले गरेका थिए । उक्त कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर पनि सहभागि भएको संगठनका केन्द्रीय सदस्य प्रधानले बताएका छन् । साँझ भएपनि सडकमा यातायातका साधन चलिरहेका थिए । नेकपाका कार्यकर्ताले नारा लगाइरहँदा यात्रुहरुले साधन रोकेर हेरिरहेका थिए । नेकापले कात्तिक ३ गतेदेखि संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।प्रहरीले असोज ३० गते नेकपाको राप्ती ब्यूरोको बैठकमा छापा मारेर वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको थियो । शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरिरहेको बेला आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।