माफी मागेर गायक थापा छुटे

काठमाडौं, ५ कात्तिक । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक भएपछि गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको थियो । दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ । अबदेखि लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेर गीत नगाउने प्रतिबद्धता जनाएपछि गायक थापालाई छोडिएको हो । ’सार्वजनिक रुपमा उनले माफी मागेका छन । अबदेखि यस्तो नगर्ने शर्त राखेपछि छोडिदिएको हो,’ महाशाखाका एसएसपी सहकुल थापाले जनाएका छन । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो ।
यसैगरी, सरकारले तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ ।गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ । साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि अपील गरेको छ ।यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ ।

यसमा तपाइको मत